
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमार रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा मंगलवार कम्पनीले आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।
विक्री प्रबन्धकका अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७२२ जना स्थानीयमा माग बमोजिम १ लाख ८३ हजार ३८० कित्ता आईपीओ बाँडफाँट गरिएको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन नसकेको विक्री प्रबन्धकको भनाई छ । स्थानीयमा वितरण हुन नसकेको शेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएको छ । विक्री प्रबन्धकका अनुसार रितपूर्वक आवेदन दिएका २५ हजार २१९ जना वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदकहरूमध्ये २५ हजार २१८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस