
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । असार २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हालसम्म नोक्सानीमै रहेको यस कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको कम्पनीले साउन २६ गते हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्ने मिति तय गरिसकेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । १५औं वार्षिक साधारण सभामार्फत कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजीक संस्थाहरूलाई उपलब्ध गराएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने कार्यक्रम समेत तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस