
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ वैदेकि रोजगारीमा रहेका नेपालीले खरिद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको हो । स्थानीयमा भने आईपीओ विक्रीमै रहने जानकारी कम्पनीले दिएको छ ।
आयोजना प्रभावित स्थानीयमा छिटो अवधि साउन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्मको विक्री मिति कम्पनीले तय गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गर्न लागेको हो ।
स्थानीयमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।
त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रूपैयाँ बराबरको १ लाख ५० हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्रीमा ल्याईएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म दुबै समूहका खरीदकर्ताहरूले माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइनबाट समेत वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था छ ।
कम्पनीले यस आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाा रहेको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता ५० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जारी पूँजी १ अर्ब १७ करोड रूपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रूपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरकोे २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्रीमा ल्याएको हो । बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ ।
कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिने आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । २०६५ चैत १४ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा रहेको छ । यस कम्पनीमा नेपालका ख्याती प्राप्त युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी रहेको छ ।
यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापक तर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।
प्रतिक्रिया दिनुहोस