aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिनर्जी पावर डेभलपमेन्टले सच्यायो हकप्रद निष्कासनको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ साउन २०८०
सिनर्जी पावर डेभलपमेन्टले सच्यायो हकप्रद निष्कासनको मिति

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । यस अघि सार्वजनिक सूचनामा तोकिएको मिति भदौ ३ गतेदेखि हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको जानकारी कम्पनीले सूचना जारी गर्दै दिएको छ । 

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरमा भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । 

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँ एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धिधत मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस