aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तनहुँमा उत्पादित कागतीले बजार पाएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
तनहुँमा उत्पादित कागतीले बजार पाएन

दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे । 

विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”

पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका थिए । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । 

“उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।” उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ । भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ ।  

ठकुरीले गत वर्ष प्रतिकेजी रु ८० मा बिक्री गर्नुभएको थियो । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । “चितवनमा बुझ्दा किलोको रु ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा रु एक सयसम्म पनि आएको छ”, उनको भनाइ छ । विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गर्नुभएको थियो । हालसम्म रु १५ लाख लगानी भइसकेको उनको भनाइ छ । 

उनको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए । कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनी बताउँछन् । कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ ।  

प्रतिक्रिया दिनुहोस