
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ साउन २५ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहिबार बिहान ९ बजे नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन ४ देखि १८ गतेसम्म विक्री गरेको थियो । कम्पनीले प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपिओ विक्री गरेको हो । नेपालको धितोपत्र बजारमा ५० रूपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने यो पहिलो कम्पनी रहेको छ । यस अघि सोल्टी होटलले प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको थियो ।
जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि कम्पनीले बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ ।
कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यस आधारमा कम्पनीको आईपीओ बाँडफाँट गर्दा न्यूनतम २० कित्ताकै आधारमा बाँडफाँट हुनेछ ।
२०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।
प्रतिक्रिया दिनुहोस