aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लर्डबुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच प्राविधिक शिक्षामा सहकार्य सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ साउन २०८०
लर्डबुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच प्राविधिक शिक्षामा सहकार्य सम्झौता

काठमाडौँ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवम्‌ व्यावसायिक एवम्‌ प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।

फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताए । 

सहमति अनुसार फाउण्डेसनले एमबीए र  एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।  

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ । 

सूचना प्रविधि र व्यावसायिक शिक्षाको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जालानको भनाइ छ । सरकारले पछिल्लो समय अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यान्वयनका लागि फाउण्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जालानले बताए ।

प्रतिक्रिया दिनुहोस