aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गैरिधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
गैरिधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम

काठमाडौं ।  राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ। नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरेका हुन्।

यो नेपालमा इसुजुको ११औं सोरुम हो। उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो। सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराए।

इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताए। वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना भएको बताइएको छ। 

सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको बताएको छ। कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्य राखेको छ। त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने कम्पनीको योजना छ। हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी-क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन्।

मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ। इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ। इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ। डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो। यसका डिजल इन्जिनहरु बलिया मानिन्छन्।

ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने कम्पनीको प्रतिबद्धता छ। इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री- वितरण गर्छ। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने व्यवस्था मिलाइरहेको बताएको छ।

इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो। यसको प्रधान कार्यालय जापानको राजधानी टोक्योमा छ। एक सय तीन वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिङ गर्छ। यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन्। एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ। यसले कोमात्सु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ।

प्रतिक्रिया दिनुहोस