
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन ४ देखि १८ गतेसम्म विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ५३ हजार ९५० जना आवेदकहरूलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार १२ लाख ४७६ जनाले १ करोड २८ लाख २५ हजार ५३० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए ।
कुल आवेदकहरूमध्ये रितपूर्वक नभएको भन्दै २ हजार ३९९ जनाको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका ११ लाख ९८ हजार ७७ जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो । गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा भाग्यमानी ५३ हजार ९५० जना आवेदकहरूले मात्र शेयर प्राप्त गरेका हुन ।
योग्य आवेदकहरूमध्येबाट पनि ११ लाख ४४ हजार १२७ जनाको हात खाली भएको छ । कम्पनीले प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपिओ विक्री गरेको हो । नेपालको धितोपत्र बजारमा ५० रूपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने यो पहिलो कम्पनी रहेको छ । यस अघि सोल्टी होटलले प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको थियो ।
जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि कम्पनीले बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ ।
कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
२०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।
प्रतिक्रिया दिनुहोस