aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अरुण काबेली पावरको शतप्रतिशत हकप्रद शेयर भदौ ८ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
अरुण काबेली पावरको शतप्रतिशत हकप्रद शेयर भदौ ८ गतेदेखि

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । 

सोही पूँजीको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । यो हकप्रद शेयर भदौ २८ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस