aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुलमानकै पत्रकार सम्मेलनमा बिजुली झ्याप्प-झ्याप्प !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
कुलमानकै पत्रकार सम्मेलनमा बिजुली झ्याप्प-झ्याप्प !

काठमाडौं । आफ्नो कार्यकालको मुख्य उपलब्धि सार्वजनिक गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा नै पटक पटक बत्ती गएको छ । बिहिबार प्राधिकरणकै सभा हलमा भएको पत्रकार सम्मेलनमा घिसिङ बोलिरहँदा चार पटक बत्ती गएको हो । 

बत्ती गएपछि उनी एकछिन बोल्न रोकिएका थिए । हलबाट यस्तै अवस्थामा बोल्न आग्रह गरेपछि उनले पुनः आफ्नो भाषणलाई निरन्तरता दिए । उपस्थित केहीले पछिल्लो समय यसरी बत्ती गइरहने समस्याको कारणबारे प्रश्न सोधेका थिए । जवाफमा कुलमानले धेरै ट्रान्समिसन लाइनहरू प्राधिकरणले बनाइरहेका कारण यस्तो समस्या बिस्तारै हल हुने बताएका थिए । 

घट्यो प्राधिकरणको नाफा 

नेपाल विधुत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष भन्दा गत आवको नाफा झन्डै एक अर्बले कमी हो  । सो अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड नाफा कमाएको थियो ।   

घिसिङका अनुसार प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत् उत्पादनमा हास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ । 

प्राधिकरणले विद्युत् बिकी र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्व १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ । साथै, प्राधिकरणको तेस्रो वित्तीय पुन संरचना तयार गरी प्राधिकरण ऐन २०४९ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब रु. ४८ अर्ब बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको । साथै सरकारको कोषमा सावा, व्याज र रोवाल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ । आ.व. २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ। वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस