
काठमाडौं । साउन २३ गतेदेखि सर्वसाधारणमा जारी भएकोे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन २६ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो ।
साउन २६ गते विहान १० बजेसम्मको तथ्याङ्क अनुसार १२ लाख ५५ हजार ७४७ जनाले १ करोड ५० लाख ३५ हजार ७४० कित्ता आईपीओ खरीद माग गरेका छन् । जुन मागभन्दा साढे १ गुणा मात्र बढी आवेदन हुन आउछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २५७ रूपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम वापत १५७ रूपैयाँ थप गरेको हो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ । यी वाहेक ६ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्ययम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल भदौ १६ गतेदेखि व्यवसाय सुरू गरेको हो । यस कम्पनीमा तत्कालिन रिलायबल डेभलपमेन्ट बैंक , साविक सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगाएतको लगानी रहेको छ । रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहेको कम्पनीले हाल ८२ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
५ अर्ब ५० करोड रूपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ४ अर्ब रूपैयाँ मात्र छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ८० करोड रहेको कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्तापूँजी ४ अर्ब कायम हुनेछ । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयर मार्फत संकलन गर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस