aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ साउन २०८०
चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गते (आज) देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । 

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलेले ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस