
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन २९ गते (आज) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्य सहित आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
योजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
सर्वसाधारण तर्फको शेयरमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको हो । कुल कित्ता आईपीओ मध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्रीमा आएको छ ।
यो आईपीओ खरीदका लागि यूनतम १० कित्ताको माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ माग गर्न सक्नेछन् ।
स्थानीयका लागि आईपीओ विक्री अवधि छिटोमा भदौ ११ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलो अवधि भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ ११ गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।
प्रतिक्रिया दिनुहोस