aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुदूरपश्चिममा कफी खेतीको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ साउन २०८०
सुदूरपश्चिममा कफी खेतीको सम्भावना

सुदूरपश्चिम । कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी, व्यापारी एवं निजी क्षेत्रले यसतर्फ चासो नदिनुलगायत कारणले प्रशस्त सम्भावना भए पनि खेती सुरु हुन नसकेको कृषि प्राविधिक बताउँछन् । 

प्रदेशमा कफीखेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँका किसानले लगानी गर्न चासो नदिँदा व्यावसायिक खेती हुन नसककेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । “अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित कफीको माग उच्च छ । यसबाट मनग्य आम्दानी गर्न सकिन्छ”, उनले भने, “विश्व बजारमा भइरहेको माग अनुसार कफी एक प्रतिशत र चिया दश प्रतिशत पनि पुर्‍याउन सकिएको छैन ।” 

प्रमुख शर्माले सुदूरपश्चिम प्रदेशका जिल्ला बाहेका अन्य कतिपय जिल्लामा थोरै जग्गामा कफीखेती हुँदै आएको बताए । उनका अनुसार नेपाली कफी विदेश निर्यात हुँदा सरदर प्रतिकिलो १६ अमेरिकी डलर प्राप्त हुन्छ । राष्ट्रिय चिया तथा कफी बोर्डले सन् २०१४ मा सुदूरपश्चिमको डोटी र डडेलधुरामा कफी खेतीको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार डोटीमा ६४ हजार आठ सय र डडेलधुरामा ५१ हजार तीन सय ३० हेक्टर जमिनमा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ ।

जियोग्राफिक इन्फरमेसन९आधुनिक प्रविधि०मार्फत् गरिएको उक्त अध्ययन अनुसार प्रदेशमा एक लाख ९० हजार दुई सय ४६ हेक्टर जग्गामा कफी र तीन लाख ४९ हजार छसय ६४ हेक्टर जग्गामा चियाखेती सम्भावना रहेको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेशको १२ हजार दुई सय हेक्टर जग्गामा कफीखेतीको उच्च, ५९ हजार सात सय १६ हेक्टरमा राम्रो र एक लाख १८ हजार तीन सय ३० हेक्टरमा सामान्य सम्भावना रहेको छ । 

तीन हजार नौ सय २४ हेक्टर रुखो तथा बाँझो जग्गा, सात हजार आठ सय ५५ हेक्टर घाँसे मैदान र दुई हजार दुई सय ४७ हेक्टर झाडी भएको जग्गामा रहेको बताउँदै निर्देशक डा भट्टराईले यसमा चियाखेती गर्न सकिने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार यहाँको भूगोल, हावापानी र माटोका हिसाबले प्रदेशमा ‘अराविक’ जातको कफीखेतीको राम्रो सम्भावना रहेको छ ।

कैलालीको चुरे र बैतडीको दोगडाकेदार गाउँपालिकाका साथै अछाम र बझाङ जिल्लामा कफीखेतीको उच्च सम्भावना रहेको उक्त अध्ययनले देखाएको छ । बजारमा बढी माग हुने अराविक जातको कफी खेतीको लागि ७० देखि ८० प्रतिशत सापेक्षित आद्रता, एक हजार छ सयदेखि दुई हजार पाँच सय मिलिमिटरसम्मको वर्षा, १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ ।

आइतबार धनगढीमा आयोजित ‘चिया तथा कफीको एकीकृत विकासका लागि अन्तरक्रिया’ कार्यक्रममा चिया तथा कफी विकास बोर्ड, प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिबीच छलफल भएको थियो । कार्यक्रममा बोर्डको प्यूठानस्थित कार्यालयका प्रमुख एकराज सञ्ज्यालले स्वाद र गुणस्तरको दृष्टिमा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा बढी मूल्य पाउने गरेको बताए । 

प्रतिक्रिया दिनुहोस