aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिड सोलु हाईड्रोपावरको आईपीओ स्थानीयले खरीद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
मिड सोलु हाईड्रोपावरको आईपीओ स्थानीयले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिन आज अन्तिम दिन रहेको छ । स्थानीयबाट छिटो अवधि साउन २८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि कम्पनीले साउन ३० गतेसम्मका लागि विक्री अवधि थप गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने साउन २८ गतेसम्म आवेदन संकलन गरिएको छ । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको हो । 

आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । यो वाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र वाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको हो । दुबै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भनसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस