
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । साउन २४ गते कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितीको बैठकले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० को आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
उक्त हकप्रद शेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय कम्पनीले गरेको हो ।
त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने जानकारी कम्पनीले दिएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस