
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ भोली अर्थात साउन ३१ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले भोली साझ ५ः३० बजे आईपीओ बाँडफाँट कार्यक्रम आयोजना गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा साउन २३ गते देखि २६ गतेसम्म ९६ लाख कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । भाग्यमान ९ लाख ६० हजार आवेदकहरूले कम्पनीको १० कित्ताका दरले शेयर हात पार्नेछन् । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयर माग भएको छ ।
सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो ।
कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी आईपीओ भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।
प्रतिक्रिया दिनुहोस