aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । 

कम्पनीले वैदेशिक रोजगारीमार रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री खुला गरिएको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरीएको छ । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार ३१ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ । 

अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ताभएको पूँजी भने ५२ करोड रूपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीमा हाल संस्थापक तर्फ ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १३ करोड ४१ लाख रूपैयाँभन्दा बढी संचित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०८०/८१ भित्र संचित नोक्सानी घटाएर १३ करोड ३० लाख रूपैयाँमा झार्ने प्रक्षेपण कम्पनीले गरेको छ । वास्तविक प्रतिशेयर नेटवर्थ ७४ रूपैयाँ रहेको कम्पनी वास्तविक ८ रूपैयाँ ३७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको देखिन्छ । विगत तीन आर्थिक वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १३ दशमलव ७८ प्रतिशत ऋणात्मक रहेको छ । चालू आर्थिक वर्षभित्र नेटवर्थमा औसत प्रतिफल ३ रूपैयाँ ३५ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस