aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

"नेप्से-३० मा आधारभूत कमजोरी छ; इन्डेक्सहरू पारदर्शी, लगानीयोग्य र वैज्ञानिक छैनन्"

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ साउन २०८०

मुक्ति अर्याल, यो नेपालको पुँजी बजारलाई नजिकबाट हेर्नेहरूका लागि चिरपरिचित नाम हो । नेपालमा मर्चेन्ट बैंकिंङ लाई सुरुदेखि नै बामे सर्न सिकाउने उनीसँग नेपालको धितोपत्र बजारबारे गहिरो ज्ञान छ । अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अवधारणा सहित नेप्से-३० सुरु गर्ने अन्तिम तयारीमा रहेको बेला सो विषयमा उनको टिप्पणी सान्दर्भिक हुने देखिन्छ । प्रस्तुत छ: उनै शेयर बजार विज्ञ मुक्ति अर्यालसँग नेपालको पुँजी बजारको समग्र अवस्था र नेप्से-३० मा केन्द्रित रहेर आर्थिकन्यूजका इन्द्र बानियाँले गरेको कुराकानीको सम्पादित अंश :

अहिले बजारमा नेप्से–३० को चर्चा छ । यसको आधारभूत पक्षलाई कसरी हेर्नु भएको छ ?

हामीसँग भएका नेप्सेले बनाइरहेका इन्डेक्सहरू जे जति छन् त्यो आफ्नो क्षमतामा आधारित भएर बनाइरहेको अवस्था छ । हामी सबैलाई थाहा छ ती इन्डेक्सहरू पारदर्शी छैनन्, लगानी योग्य छैनन्, वैज्ञानिक छैनन् । बजारको भाषामा भन्नु पर्दा ती इन्डेक्सहरू प्रतिनिधिमूलक छैनन् ।

नेप्से–३० भनेको छानिएका धीतोपत्र (सेलेक्टेड स्टक)हरू जो अलिक चलायमान (लिक्युड) स्टकहरू छन् जसले बजारलाई तल-माथि (अप एन्ड डाउन) गर्न सक्ने खालको क्षमता राख्छन् ती स्टकहरूलाई मिलाएर नेप्से–३० नाम दिएर ल्याउन खोजिएको छ । नेप्से–३० मा ३० स्टकहरू राख्ने भनिएको छ । यसलाई राम्रै मान्नु पर्छ । विदेशहरूमा पनि हुने नै यस्तै हो । नेप्से–३० ल्याउने राम्रो भए पनि यसमा कमी कमजोरीहरू धेरै छन् ।  

स्टक सेलेक्सनको जुन मापदण्ड (क्राइटएरिया) छ त्यसलाई भार (वेटेज) दिने कुरामा गल्ती भएको छ । स्टक सेलेक्ट मै समस्या हुन्छ भने त्यहाँ स्टकहरू नजान सक्छन् । चुक्ता पुँजी, मुद्रास्फीति, इपिएसका कुराहरू स्टक सेलेक्सनमा राख्नु पर्दैन । तर, यहाँ राखिएको छ ।

एउटा इन्डेक्स बनाउनका लागि इन्डेक्सको व्यवस्थापन गर्ने कमिटी चाहिन्छ । त्यो कमिटीले म्यानुअल बनाउनु पर्छ । यसको मस्यौदामा प्रमुख कुराहरू हामीले देखेका छैनौँ । यी प्रमुख कुराहरू छुटेका छन् ।

भोली यो स्टक एक्सचेन्जमा सूचीकृत (लिस्टिङ) भएका ३० मध्ये नयाँ अर्को आएर १० वटा उता गयो भने २० मा झर्छ । यो भएमा अरू खोज्नु पर्ने हुन्छ । यो कुराहरू खुलाइएको छैन । यस्तो पनि हुनसक्छ भन्ने सोचेका छैनन् । यी सबैकुराहरुलाई व्यवस्थापन गर्नका लागि नै समिति आवश्यक हुने हो । समितिले सबै कुरा खुलाउनु पर्छ र विस्तृत विषय समेट्नु पर्छ ।  

तपाईले बाहिरका स्टकहरूको पनि अध्ययन गर्नु भएको छ । हाम्रो नेप्से–३० भित्र राख्न खोजिएका जति पनि कम्पनीहरू छन् तिनीहरूलाई अन्तर्राष्ट्रिय नियम अनुसार राख्न सकिने आधारहरू छन् त?

बकाइदा छ । ११ वटा क्याटागोरी बनाउन गाह्रो छ । त्यसको समाधानका लागि हामीले उपायहरू पनि बताइदिएका छौँ । यसबाहेक अन्तर्राष्ट्रिय बिधि र प्रक्रिया (प्रोसिजर)हरूलाई पछ्याउनु पर्छ । यसो गर्न सकिन्छ ।  

अहिले शेयर बजारमा जुन लगानीकर्ताहरूको आबद्धता छ, यसमा नेप्से–३० आएपछि कुन खालको उत्साह आउन सक्छ?

यो धेरै सूचनामूलक (मोर इन्फरमेटिभ) हुन्छ । कारण यो बढी प्रतिमिधिमुलक (मोर रेप्रिजेन्टिभ) पनि हुन्छ । यसको इन्डेक्स सेलेक्टिभ इन्डेक्सहरूलाई लिएर बनाइन्छ । यो तलमाथि हुँदा लगानीकर्ताहरूले शेयर बजार कता जाँदै छ भन्ने कुरा थाहा पाउन सक्छन् । यहि स्टकले मार्केटलाई लिड गर्ने गर्छ । लगानीकर्ताहरूका लागि जानकारीको हिसाबले धेरै नै उपयोगी हुन्छ ।  

यी बाहेक अन्य विषयहरू हाम्रोमा चर्चा हुन्छ तर, काम हुँदैन । हाम्रोमा काम गर्न नै नसकेर हो ? 

नेप्सेले गर्न सक्ने कामहरू धेरै नै छन् । नयाँ वित्तीय साधानहरु बजारमा ल्याउने काम धितोपत्र बोर्डको हो । उसले गर्नु पर्छ । तर, अहिलेसम्म गर्न सकेको छैन । नयाँ रचनात्मक  (इनोभेटिभ, क्रिंयटिभ) प्रोडक्टहरु आजसम्म हाम्रामा केही पनि आएको छैन । त्यो वातावरण नभएकोले नै नआएको हो ।

पुँजी बजारमा सहभागिताको हिसाबले हामी कहाँनेर छौँ ? 

सहभागिताको नम्बरको हिसाबले हाम्रोमा धेरै नै छ । तर, कारोबार हेर्दा खासै माथि गएका छैनौँ । माथिको लेभलमा पुग्न सकेका छैनौँ । हामी धेरै नै तल छौँ । हामीले गर्नु पर्ने काम धेरै नै छ ।  

हामीकहाँ राम्रो खालको प्रशासनिक गतिविधि पनि छैन । अनेक किसिमका नराम्रो र अस्वीकार्य गतिविधिहरू पनि भइरहेको छ । यस्तै कारणले धेरै कम्पनीहरू सहभागी नभएको देखिन्छ । सूर्य नेपाल जस्तो कम्पनी मार्केटबाट बाहिर छ । त्यो कम्पनी मार्केटमा आउने ओ भने मार्केट क्यापिटलाइजेसन दुई खर्बले नै माथि जान्छ ।

डाबर, एनसेल जस्तो कम्पनी मार्केट बाहिर छ । यी त लिडिङ कम्पनी हुन सक्छन् । बाटो सफा गरिदिने हो भने उनीहरू मार्केटमा आउँछन् । नआउने भन्ने सवाल नै उठ्दैन । उनीहरूलाई ल्याउनका लागि बाटो बनाउने काम धितोपत्र बोर्डले गर्नु पर्छ ।

उनीहरूलाई ल्याउन कानुन मात्रै समस्या हो त ?

सयमा सय नै कम्पनीहरू पब्लिकमा आउँदैनन् । ८०/९० कम्पनी आउन सक्छन् । सबैजसो कम्पनीहरू बजारमा जान चाहन्छन् । जसको धेरै फाइदाहरू पनि छन् । केही कम्पनीहरू नजाने भए पनि धेरैजसो कम्पनीहरू जान चाहन्छन् । मार्केटमा आउँदा उनीहरूलाई धेरै फाइदा हुने भएकोले पनि आउन चाहन्छन् । बजारमा आउन सक्ने कानुनहरू भएमा उनीहरू आइहाल्छन् ।

हाम्रो बजार चलखेल गर्न मिल्ने खालको भयो । यसले गर्दा सामान्य मानिसहरू डुबेको डुब्यै हुन्छन् । ठूला लगानीकर्ताहरू माथि गइरहेका हुन्छन् भन्ने पनि छ नि ?

यो ठिक कुरा हो । यसो हुनुमा धितोपत्र बोर्डको कमजोरी छ । इन्साइडर, कर्नरिङका गतिविधिहरू स्वीकार्य हुँदैन । यसो भएन भने नेप्से सत्य हुनसक्छ । यी कुराहरू रोकिनु पर्छ । यी काम रोक्ने भनेको धितोपत्र बोर्डले हो ।

पुँजी बजारको अहिलेसम्मको अवस्था हेर्दा भोलीको दिनमा मार्केट कता जान सक्छ?

हिजोका दिनदेखि आजसम्म आउँदा हामी बढेका छौँ । तर, हामी मानसिकरुपमा, शारिरिकरुपमा र आर्थिक रुपमा कति बढ्यौ भनेर हेर्नु पर्ने हुन्छ ।

अरू देशसँग तुलना गर्दा हामी सन्तुष्ट हुने ठाउँमा छैनौँ । उनीहरूको तुलनामा हामी जिरोबाट बल्ल माथि उठेका छौँ । एकमा समेत पुग्न सकेका छैनौँ । हाम्रै विदेशमा बस्ने नेपालीहरूलाई लगानी गर्न गाह्रो छ । यी समस्याहरू समाधान गरेर अगाडी बढ्न सकिएमा हामी अझै माथि जान सक्छौँ ।  

हाम्रो मार्केट खुल्ला छैन । यसलाई खुल्ला बनाउन जरुरी छ । क्यापिटल मार्केटको भरपुर प्रयोग गर्न सकिन्छ । धेरै कम्पनीहरू ल्याउन सकियो भने राज्यले नै फाइदा लिन सक्छ ।  

प्रतिक्रिया दिनुहोस