aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माण्डु हाइड्रोपावरको आईपीओ स्थानीयमा ७९ लाख ३० हजार कित्ता बिकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ साउन २०८०
माण्डु हाइड्रोपावरको आईपीओ स्थानीयमा ७९ लाख ३० हजार कित्ता बिकेन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा असार २८ गतेदेखि साउन २६ गतेसम्म २ लाख ७२ हजार ७३० कित्ता आईपीओ विक्री खुला गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा १ लाख ९३ हजार ७०० कित्ता आईपीओ साउन ३१ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यस आधारमा स्थानीयका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ७९ हजार ३० कित्ता शेयर भने वितरण हुन नसकेको देखिन्छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २८ गतेदेखि साउन ११ गतेसम्म विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरिएको हो । सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो । 

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ विक्री गरेको हो । अब दोस्रो चरणमा सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा आईपीओ विक्री हुनेछ । कम्पनीले मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ ।

उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट औषत लागत १८ करोड २७ लाख रूपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस