
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमको आईपीओ बिक्री गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको हो । बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यो आईपीओ विक्री अवधि छिटोमा भदौ १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि भदौ २४ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यहि अवस्था दोरोरिएमा कम्पनीको आईपीओ पनि छिटो अवधि भदौ १३ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
कम्पनीले मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट औषत लागत १८ करोड २७ लाख रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस