aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दशैँको मासुमा प्याज हाल्न नपाइने, भारतले लगायो निर्यातमा प्रतिवन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
दशैँको मासुमा प्याज हाल्न नपाइने, भारतले लगायो निर्यातमा प्रतिवन्ध

काठमाडौँ । भारतमा प्याजको मूल्य अत्याधिक बढेपछि त्यहाँको सरकारले आइतबार देखी प्याजको निकासीमा पूर्णतया बन्देज लगाएको छ । भारत सरकारको केन्द्रिय वाणिज्य एवं उद्योग मंत्रालयले यस्तो घोषणा गरेसँगै नेपालमा त्यसको प्रतक्ष्य प्रभाव पर्ने देखिएको छ ।

नेपालीहरुको प्रमुख चाड बडा दशैँको पूर्वसन्ध्यामा प्याजको अभावले ठुलै समस्या उत्पन्न गराउने देखिएको छ । दसैमा मासुको उपयोग बढी हुनेहुँदा त्यो समयमा  मसलाको रुपमा प्याजको समेत खपत बढ्ने गर्छ ।  

भारत सरकारले आफ्नो मुलुकमा प्याजको अभाव हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै निकासीमा प्रतिवन्ध लगाईरहँदा नेपालको आपूर्ति मन्त्रालयले कहाँबाट कसरी प्याजको आपूर्ति गर्ने भन्नेबारे सोचेको चाहीं देखिएको छैन ।

नेपालमा भारतबाट नै प्याज आउने भएको कारण चीनबाट धेरै प्याज ल्याईदैन । अब यदी चीनबाट प्याजको आपूर्ति गर्ने कदम चाल्ने हो भनेपनि दसैँअघि त्यो प्याज नेपाल भित्रने अवस्था नरहेको प्याज आयातकर्ता ब्यापारीहरु बताउँछन् । चीनको प्याज नेपाली उपभोक्ताहरुले खासै नरुचाएको कारण त्यो आयातमा आफुहरुले ध्यान नदिएको उनीहरुको भनाई छ ।  

भारतमा लगातार वर्षाभएका कारण प्याजको मूल्य त्यहाँ समेत आकासिएको छ । प्याजको आपूर्तिलाई बढाउन त्यहाँ सरकारले प्याज आयातमा कर मिनाहा समेत गरिसकेको छ । तरपनि प्याजको मूल्यम कमि नआएपछि भारत सरकारले निर्यातमा प्रतिवन्ध लगाएको हो । यसअघि नै प्याजको निर्यात रोक्न भारत सरकारले निर्यातमा अतिरिक्त शुल्क लगाउँदा नेपालमा प्याजको खुद्रा मूल्य १५० रुपयाँ प्रतिकिलो पुगिसकेको छ । अबभने बजारमा प्याज नै नहुने अवस्था सिर्जना हुन लागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस