aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईपीओ निष्कासन गर्न एक दर्जन कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
आईपीओ निष्कासन गर्न एक दर्जन कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं । प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । विभिन्न एक दर्जन कम्पनीहरु आईपीओ निष्कासन गर्न पाइप लाइनमा छन् ।        

नेपाल धितो पत्र बोर्ड (सेबोन)का अनुसार १२ कम्पनीहरूले दुई अर्ब ५० करोड ४४ लाख ८४ हजार चार सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

आईपीओका लागि पाइप लाइनमा रहेका कम्पनीहरूमा औषधि उत्पादक कम्पनीदेखि हाइड्रोपावरसम्म रहेका छन् । पाइप लाइनमा रहेको यस्तो कम्पनीमध्ये एक हो, हिमस्टार ऊर्जा कम्पनी । यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

त्यस्तै, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ । 

सेबोनका अनुसार आइएमई लिमिटेड १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको पाइप लाइनमा रहेको छ भने दरमखोला हाइड्रोपावरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता रहेको छ । कान्तिपुर टेलिभिजन नेटवर्क पनि सात करोड ५० लाख रुपैयाँ बराबरको ७५ हजार कित्ता आईपीओ ल्याउन सेबोनको पर्खाइमा रहेको छ ।

रिलायबल स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङबाट आईपीओ ल्याउने भएका छन् । रिलायबल स्पिनिङले सात लाख ७० हजार ६४० कित्ता र सर्वोत्तमले २४ लाख कित्ता आईपीओ ल्याउने भएका हुन् । साथै एक्वर्ड पाराफार्मासिटिकल्स लिमिटेड ७० करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७० लाख ६ हजार ९०९ कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेको छ ।

त्यस्तै, नेपाल वायर हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता, ट्रेड टावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता र मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ ल्याउन लागेका छन् । यसका साथै सानिमा हाइड्रोपावर कम्पनी पनि १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न पाइप लाइनमा रहेको सेबोनेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस