aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सवारीसाधनको महामेला ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ सम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ भदौ २०८०
सवारीसाधनको महामेला ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ सम्म

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२३ भदौ २६ गतेदेखि शुरु हुने भएको छ । भदौ ३१सम्म चल्ने अटो शोको पन्ध्रौं संस्करणलाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजन गर्दैछ ।

काठमाडौंको भृकुटीमण्डपमा चल्ने अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् सवारीसाधनसँग सम्बन्धित सामग्री खरिद एवम्ं जानकारी एकै थलोमा पाइनेछ ।

नाडाका अनुसार प्रदर्शनीमा करिब १२० स्टल र ब्लकहरू रहनेछ । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत हुनेछ ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पाङग्रे, २२ ब्राण्डका दुई पाङग्रे, ७ ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा ब्राण्डका लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहने नाडाले जानकारी दिएको छ । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवासुविधा पनि प्रदान गरिने नाडाले जनाएको छ । अटो शोमा वित्तीय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरू पनि राखिनेछ । 

सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने नाडाले जानकारी दिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्न काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिनेछ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवम् आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन आज (सोमबार) देखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भदौ २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई याडिया इएटएस प्रोइलेक्ट्रिक स्कूटर उपहार दिने व्यवस्था समेत गरिएको जनाएको छ ।

बजारलाई आर्थिक मन्दीले सुस्त बनाइरहेको अवस्थामा हुन लागेको अटो शो प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन र यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्न मद्दत पुग्ने नाडाले दाबी गरेको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा अटो शो २०२३ ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ । प्रक वत्येर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभइ आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल र सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता संस्थाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस