
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएको छ । भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावलाई पारित गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रुपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन ।
विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने विषय पनि सभाका लागि तय भएको छ । सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात् कम्पनीको जारी तथा चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस