
काठमाडौं । भारतीय मोटरसाइकल उत्पादन कम्पनी हिरो मोटोकर्प नेपालमा आधिकारिक वितरक यथावत राख्न सकारात्मक देखिएको छ । सन् २०१० देखि आफ्ना उत्पादन बेचिरहेको नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजीएम) नै आधिकारिक वितरक कायम राख्न छलफल गरिरहेको हो ।
मोटोकर्पले ज्योति समूह अन्तर्गतको एनजीएमलाई ‘थप समय’ दिने गरी छलफल गरिरहेको स्रोतले जानकारी दियो । यसबीच एनजीएमबाट डिलरसीप खोस्न चौधरी ग्रुप (सीजी) ले हदैसम्म गरेको थियो । हिरो मोटोकर्पले नयाँ निर्णय गरेको खण्डमा चौधरी ग्रुपले डिलरसीप निम्ति गरेको लगानी डुब्नेछ ।
आधिकारिक रूपमा सन् २०१० मा वितरक बनाए पनि ज्योति समूहले ३५ वर्षभन्दा अघिदेखि हिरोका उत्पादन बिक्रीवितरण गर्दै आएको छ । यो कम्पनीले हिरो मोटोकर्पको आधिकारिक वितरकको रूपमा हिरो ब्राण्डका मोटरसाइकल र स्कुटरहरू बिक्री गर्दै आएको हो । तर, केही समयअघि हिरो मोटोकर्पले एनजीएमबाट वितरक खोसेर अन्य घरानालाई दिने खोजेको थियो ।
सर्वोच्च अदालतमा ‘हिरो मोटमोकर्पको आधिकारिक वितरक एनजीएमलाई नै कायम गरी पाऊँ’ भन्ने आदेशमा एनजीएमको पक्षमा दुई वर्षका लागि एनजीएमलाई आधिकारिक वितरक कायम राखे पनि हिरोले आफ्ना थप उत्पादनहरू नेपालमा नपठाउँदा अन्योलता कायम रहँदै आएको थियो । नेपालमा आधिकारिक वितरक कसले पाउने भन्ने विवाद कायमै रहेको छ ।
ज्योति समूहले हिरोका सवारीसाधन नेपालमा नै एसेम्बल गर्न झण्डै ४० करोड रुपैयाँ लगानी गरी प्लान्ट निर्माण गरिसकेको छ । हिरोको बिक्री तथा सर्भिस सेन्टरको नेटवर्क बनाउन ज्योति समूहले अरू झण्डै चार अर्ब लगानी गरेको जनाएको छ । यति ठूलो लगानी र पूर्वाधार अलपत्र पारेर हिरो मोटोकर्पले सम्बन्ध तोड्न गर्न खोजेपछि ज्योति समूह चिन्तत रहँदै आएको थियो ।
चौधरी समूहको सीजी मोटोकर्पले आफूले पाउनेभन्दा धमाधम नयाँ कर्मचारी भर्ति गर्न थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार चौधरी समूहले दुई हप्ता अघिदेखि नै हिरो मोटोकर्पको आधिकारिक वितरक आफू मातहतको सिजी मोटोकर्पले पाउने भन्दै सतुङ्गलस्थिति कार्यालयमा नयाँ भर्ना गर्न अटो बजारमा रहेका कर्मचारीहरूलाई आन्तरिक सूचना जारी गरेको थियो ।
‘छलफल भइरहेको छ’ : ज्योति
एनजीएमका सञ्चालक तथा ज्योति समूहका अध्यक्ष डा. रूप ज्योतिले हिरो मोटोकर्प भारतको निर्णय अनुसार एनजीएमले नै नेपालका लागि आधिकारिक वितरक पाउने छलफल भइरहेको आर्थिकन्युजलाई बताए ।
उनले भने, ‘नेपालमा हिरोका उत्पादनलाई स्थापित गर्न एनजीएम र समग्र ज्योति समूह लागि परेकाले हिरोमोटोकर्पले पनि नेपालका लागि हामीलाई नै वितरकका लागि थप समय दिन पर्छ भन्ने सूचना हामीसम्म आइपुगेको छ ।’
चौधरी ग्रुपको छविमाथि शंका
हिरो मोटोकर्पबारे आधिकारिक निर्णय नगरे पनि चौधरी ग्रुपले डिलरसीप लिन प्रयास गरिरहेको थियो । साविक वितरक एनजीएमलाई दबाबमा राख्न उसले कर्मचारी भर्ना गर्न खोजेको खबर फैलाएको थियो ।
तर, नेपालमा यसअघि नै राजस्व छली र पूँजी पलायनको नेतृत्व गरेको आरोप खेपेको चौधरी ग्रुपलाई डिलरसीप दिँदा ब्राण्डको छविमै असर पर्ने भन्दै हिरो मोटोकर्प हच्किएको बताइन्छ । यसअघि नै होण्डासँग साझेदारी तोडिएपछि बजारमा केही कमजोर देखिएको ब्राण्डले पूर्वाधार सम्पन्न वितरक नचिढ्याउने नीति अख्तियार गर्न खोजेको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस