
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा पनि कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो ।
प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गरेको हो । स्थानीयमा विक्री गरिएको कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ ।
त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानिय बासिन्दारूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।
यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाा रहेको छ ।
प्रतिक्रिया दिनुहोस