aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

यी पाँच सवारी साधन: जो नाडा अटो शोमा हुँदैछन् लञ्च (विशेषता सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ भदौ २०८०
यी पाँच सवारी साधन: जो नाडा अटो शोमा हुँदैछन् लञ्च (विशेषता सहित)

काठमाडौं । यही २६ भदौदेखि नाडा अटो शो हुँदैछ । काठमाडौंमा आयोजित सवारीसाधनहरूको कुम्भ मेलाको यो १५ औँ संस्करण ६ दिनसम्म चल्ने छ । शोमा १२० वटा स्टलहरू रहने भएका छन् भने ४५ वटा सवारी साधनका ब्राण्डहरु सहभागी हुने भएका छन् ।   

नेपाल अटो मोबाइल एसोसिएसन (नाडा)का अनुसार काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीमा ठूला तथा साना स्टल र ब्लकहरू रहने छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको समेत सहभागिता रहने छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता जनाउने छन् । २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन गरिने छ ।

नाडा अटो शोमा लञ्च हुँदै फोर्स अरबानीया   

फोर्स कम्पनीको अरबानीया माइक्रोबसको भारतमा अत्यधिक माग छ । जसले गर्दा नेपालमा पनि यसको निकै चासो र चर्चा हुने गरेको छ । नेपाली ग्राहकलाई मध्यनजर गरेर नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले यो माइक्रो बस नेपाल भित्र्याएको हो । जसको लञ्च यही भदौ २६ गते हुने नाडा अटो शोमा हुँदैछ । त्यो दिनबाट अरबानीया माइक्रोबसको अनावरण तथा बुकिङ खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरिने भएको छ । 

यो बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुविधा युक्त रहेको कम्पनीको दाबी छ । कार जस्तै आरामदायी र सुविधा सम्पन्न यो बस विषेशत पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरू, कूटनीतिक निकायहरू, सरकारी तथा गैर सरकारी संस्थाहरूका उपयुक्त हुने देखिन्छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।   

अरबानीया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल मानिएको छ । ड्युल एअर ब्याग युक्त यस गाडीमा एरोडाइनामीक क्र्यास एण्ड रोलोबर प्रोटेक्सन,  डबल स्किन बडी कन्स्ट्रक्सन, स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सीस्टम लगायत बिषेशताहरु रहेको बिक्रेताले जनाएको छ । साथै, लेटेस्ट जेनेरेशनको एबीएस तथा इपिएस जस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुविधा सम्पन्न माइक्रोबस  भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोर सहितको तिन ढोका युक्त यो बस१४ र १८  सिट क्षमतामा उपलब्ध छन् भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेका छन् । यो बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ  । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जनाएको छ । नाडा अटो सो मा बुकिङ गर्नेहरुको लागी आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । 

फोटोनको विद्युतीय ट्रक 

नेपालमा पनि विद्युतीय पिकअप ट्रक भित्रिएको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले यो विद्युतीय ट्रक नेपाल भित्रिएको पहिलो सवारी रहेको दाबी गरेको छ ।  

यो ट्रक यही भदौ २६ गतेदेखि हुने नाडा अटो सोमा लञ्च गर्ने तयारी रहेको एमएडब्लुले जनाएको छ । फोटोन इभी ट्रकका प्रडक्ट म्यानेजर मुकेश झाले नेपालमा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यो पिकअप ट्रक भित्राइएको बताए । 

‘हामीले ल्याएको यो विद्युतीय ट्रक नेपालमै पहिलो पटक भित्रिएको हो । यसअघि यस्ता ट्रक कुनै कम्पनीको पनि भित्रिएको छैन । उक्त इलेक्ट्रिक ट्रक ईभी पिकअप ट्रक पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको छ’, उनले भने ।

यो ट्रक हेर्दा निकै आकर्षक देखिन्छ । जसले गर्दा ग्राहकको ध्यान तान्ने बिक्रेताले विश्वास गरेका छन्। साथै विद्युतीय सवारीमा स्पेयर पार्टसहरुको झन्झट र चिन्ता लिनु पर्दैन । त्यसमाथि यो ट्रकमा मर्मत सम्भारलाई सहज होस् भन्नका लागि २६५ वटा टच पोइन्ट राखिएको छ । 

यो ट्रकमा स्टेरिङ एकदमै राम्रो रहेको छ, जसले गर्दा सजिलोसँग ड्राइभ गर्न मद्दत पुग्ने कम्पनीको दाबी छ। अप डाउनका लागि पावर विन्डो झ्याल रहेको छ । क्याबिनमा आरामदायी सिटहरू रहेका छन् ।

ढोका खुल्ला छ की छैन, पार्किङ लागेको छ की छैन, कति रेञ्जमा गाडी कुदेको छ भन्ने देखी अटो मोड, न्युट्रल सबैको इन्डिकेटर सहितको ड्यासबोर्ड रहेको छ । यस्तो व्यवस्था अन्यमा ट्रकमा नपाइने कम्पनीको दाबी छ ।

ईभी गाडी भन्ने बित्तिकै ब्याट्री, मोटरको कुरा आउँछ । यसको ब्याट्री ३८।६४ किलोवाटको रहेको छ । यसमा ६० किलोवाट पावरको मोटर रहेको छ जुन ८० हर्स पावर ९एचपी० क्षमताको हुन्छ । यो ट्रकमा रहेको ब्याष्ट्रिको रेञ्ज एक पटकको चार्जमा २८० किलोमिटरको रहेको छ । कम्पनीले मोटर र ब्याट्रीमा पाँच वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिएको छ ।   

यो ट्रकलाई १४ सय केजी लोड राखेर उकालो आरालो जहाँ पनि गुडाउन सकिन्छ । यसमा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई पावर चर्जिंग मार्फत एकदेखि डेढ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यदि घरमा नै चार्ज गर्ने हो भने ५ देखी साढे पाँच घण्टा फुल चार्ज हुन समय लाग्ने झाले बताए । खनिज इन्धनबाट चल्ने भन्दा यो ट्रकको प्रयोग गर्दा एक वर्षमै चार देखि पाँच लाख रुपैयाँ बचत हुने उनको दाबी छ ।

फोटोनको विद्युतीय ट्रकको नेपाली सडकमा परिक्षण पनि गरिएको छ । उक्त टीएम वान विद्युतीय ट्रक पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको हो । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।  

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । टीएम वान विद्युतीय ट्रक नाडा अटो शोमा विशेष अफरका साथ प्रदर्शन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।   

‘सेरेस ३’ 

सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ ब्रान्ड नाडा शोमा राख्ने भएको छ । त्यो गाडी हो, सेरेस ३ इलेक्ट्रिक एसयूभी। 

सेरेस ३ ले विद्युतीय सहरी सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रदर्शन गर्न सक्ने बताइएको छ। ९९ किलोवाटको मोटर पिक पावर र ५२।७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी ९एनईडीसी० को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ । 

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाएको छ ।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरेन्सले यसमा स्थिरताको सुनिश्चित गर्दछ । गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ ।

१०।२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ । नेपालमा सेरेस ३ को लन्चसँगै नेपाली ग्राहकहरुले एउटा उत्कृष्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेछन् । सेरेस ३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त रहेको बताइएको छ ।

सेरेसले नवीनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक रिसर्च एण्ड डेभलपमेन्ट विङलाई संचालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन–अपमा अब सेरेस ५, सेरेस ई–१ र सेरेस ३ पनि समावेश भएको छ ।

टियागो ईभी 

सिप्रदी ट्रेडिङले टाटाको बहुप्रतिक्षित टियागो ईभी अटो शोमा प्रदर्शनी गर्ने भएको छ । नयाँ इलेक्ट्रीक टियागा मूल्यको हिसावले २२ लाखदेखि ३० लाख भित्रै रहने टियागो फ्यामली ह्याचव्याक कार हो । 

टाटा मोटर्सले कम मूल्यको ईभी सेग्मेन्टमा आफ्नो ह्याचब्याक टियागोको इलेक्ट्रीक भर्सन लन्च गरिसकेको छ । टाटाले टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । टियागोमा १९।२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री रहनेछ । टियागो ईभीमा एक्सइ र एक्सटी भेरियन्टमा १९।२ किलोवाट आवरको ब्याट्री प्याक रहने छ भने एक्सजेड, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरीमा २४ किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।

टियागो ईभी सानो कार भएता पनि ईभीमा डीसी फास्ट चार्जीङ पोर्ट समेत रहेको छ । यसमा डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टासम्म लाग्नेछ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९।२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ । यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ हर्सपावर बराबर हो ।  

डल्फीन ह्याचव्याक कार

बीवाइडीले दुई महिना अघि नै नेपाल ल्याएको डल्फीन ह्याचव्याक कार अटो शोमा देखाउने छ । कम्पनीले यसलाई करिब २ महिना अघि नै नेपाल ल्याएको थियो । अहिलेसम्म यसको विविध पक्षको परिक्षण भइरहेको छ । 

नेपालमा साइमेक्स इंकले बीवाइडी इ सिक्स र एम थ्री भ्यानको बिक्री वितरण गर्दै आएको छ । विशेषगरी सहरी क्षेत्रको लागि तयार गरिएको यो ह्याचव्याक कार ५ सिट क्षमताको हुनेछ । नयाँ कारको ड्यासबोर्ड निकै स्मार्ट हुनेछ । फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, सानो साइजको सेन्टर कन्सोल, मल्टीफङ्सनल स्टेरियरिङ ह्वील जस्ता फिचर यसमा रहने छन् ।

नयाँ कारमा दुई मोटर अप्सन उपलब्ध हुनेछ । एउटा भेरियन्टमा ७० किलोवाट र अर्को भेरियन्टमा १३० किलोवाटको मोटरमा उपलब्ध हुनेछ । यसको रेन्ज पनि ठूलो मोटरमा ३०१ र सानो मोटरमा ४०५ किलोमिटरसम्म हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस