
त्रिशूली । पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा चिया रोपण अभियान शुरु गरेको हो ।
पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाँउपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हारियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो ।
राजधानी काठमाडौंबाट २२ किलोमिटरको दुरीमा पर्ने ककनी हाइटबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका आधा दर्जन भन्दाबढी हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । ककनीबाट लाङटाङ, गणेश, गौरीशङ्कर, मनास्लु, हिमचुली, अन्नपूर्णलगायत हिमाल अवलोकनका लागि वर्षेनि हजारौँ पर्यटक भित्रने भए पनि लक्ष्य अनुसारको प्रगति गर्न नसकेको भन्दै सरोकारावलाहरू चिन्तित हुँदै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस