काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबका दिनमा विद्युतीय सवारीसाधन (ईभी) लाई राज्यले प्राथमिकतामा राख्ने बताएका छन् । काठमाडौंमा मंगलबारदेखि शुरू भएको नाडा अटो शो-२०२३ उद्घाटन गर्दै अर्थमन्त्री महतले विद्युत उपलब्धता र खपतका हिसाबले अब सरकारले ईभीलाई प्राथमिकता दिने बताएका हुन् ।
‘ईभी आयात बढाउनुपर्छ । तर आयातमात्रै गर्ने होइन, अब नेपालमा डिलरभन्दा गाडी उत्पादन गर्न सरकार र निजी क्षेत्रको ध्यान जानुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘विदेशबाट आयात गर्दा गाडी महँगो भयो, निजी क्षेत्रलाई देशभित्रै सवारीसाधन उत्पादनमा सघाउन सरकार तयार छ ।’ निजी क्षेत्रकै मागअनुसार जग्गाको कित्ताकाट खुलाइएको भन्दै अर्थमन्त्री महतले अब जग्गा बिक्री हुने र अटो व्यवसाय बढ्ने पनि दाबी गरे ।
अर्थतन्त्रमा सुधार आउन थालेको र बाँकी समस्या पनि चाँडै हल हुने बताएका अर्थमन्त्रीले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको उल्लेख गरे । उनले भने, ‘आर्थिक गतिविधि विस्तारै बढ्दै जाने केही आधार देखिएका छन्, विनिमय सञ्चिति बढेको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, जग्गा कित्ताकाट खुलेको छ, अटो क्षेत्रका समस्या पनि समाधान गरिँदैछ, त्यसैले अब गाडीको व्यापार बढ्छ ।’
‘हरेक गल्लीमा डिलर हुनु भएन’
अर्थमन्त्री महतले हाल नेपालमा सवारीसाधन बेच्ने डिलर आवश्यकताभन्दा बढी भएको बताएका छन् । हरेक गल्लीमा डिलर हुँदा लागत बढेको र खासै प्रतिफल नदेखिएको उनको तर्क छ ।
डा. महतले नाडालाई अब डिलर एसोसिएसनभन्दा पनि उत्पादन एसोसिएसन बन्न सुझाए । सवारीसाधनको एसेम्ब्लिङ थाले सरकारले सहुलियत दिने उनले आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस