aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा बिहीवार बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ भदौ २०८०
सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा बिहीवार बाँडफाँट हुदैं

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँट मिति तय गरेको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले भदौ २८ गते बिहीवार दिउँसो २ बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री गरेको छ । भाग्यमानी ९  लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । कम्पनीको आईपीओ खरीदका लागि १५ लाखभन्दा बढीको आवेदन परेको जानकारी बिक्री प्रबन्धकले दिएको छ । यस आधारमा ६ लाखभन्दा बढी आवेदकहरूको हात भने खाली हुने देखिएको छ ।

सर्वसाधारणमा आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ बिक्री बाँडफाँट गरिसकेको छ । 

यो वाहेक १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

यो कम्पनी नयाँ जीवन बीमा कम्पनीको रूपमा यो २०७४ साल कात्तिक २ गतेदेखि सञ्चालनमा रहेको छ । २०६४ साल असार १२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनीले २०७४ साल भदौ ७ गते जीवन बीमा सम्बन्धि कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा रहेको छ । 

कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ छ । 

सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रूपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस