
भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् ।
चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए । चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने उनको भनाइ छ । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताए ।
भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको उनले बताए । त्यस्तै भेडा, ऊन, घ्यु, मही, छुर्पी लगाएत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको कारण भेडा पाल्न नै चुनौती रहेको किसानहरुको भनाइ छ । ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ ।
आम्दानी राम्रो हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेडापालक किसान मिडु शेर्पाले बताए । सामुदायिक वनको कारण चरनको लागि समस्या हुने गरेको शेर्पाले जानकारी दिए । त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताए । भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको उनको भनाइ छ । भेडामा धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोग मुख्य रुपमा देखिने गरेको उनको भनाइ छ ।
चरन क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिने गरेको उनको भनाइ छ । यहाँ चराए बापत एक भेडीगोठले बार्षिक रु एक हजारदेखि रु पाँच हजारसम्म शुल्क तिर्नु पर्ने बाध्यता रहेको किसान शेर्पाले बताए ।
चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय गर्न समस्या रहेको किसान शेरबहादुर कठेतले बताए । विगतका वर्षको तुलनामा पछिल्लो समयमा चरन क्षेत्रको लागि धेरै नै समस्या हुने गरेको उनको भनाइ छ । चरन क्षेत्रको कारण धेरै किसान व्यवसायबाट पलाएन हुने अवस्था रहेको उनले बताए । भेडालाई अरु पशुचौपाया जस्तो बाँधेर पाल्न सम्भव नरहेकोले चरन क्षेत्रको अतिनै आवश्यक हुने उनको भनाइ ।
चरन क्षेत्रको अभावले कतिपयले व्यावसाय नै छाड्न बाध्य भएको उनको भनाइ छ । चरन क्षेत्रको समस्या कारण यो व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको किसानले बताउने गरेका छन् । राज्यले भेडापालन किसानलाई सहज चरिचरनको लागि पहल गर्नुपर्ने किसान कठेतको भनाइ छ ।
मैयुङडाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको किसान कठेतको भनाइ छ । पराम्परागत पेसामा आबद्ध किसानलाई राज्यले ध्यान दिनुपर्ने किसान कठेतले बताए । किसानको समस्यालाई पहिचान गरेर यस्ता खालका लोपोन्मुख पेसालाई संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ ।
राज्यले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने उनीहरुको भनाइ छ । राज्यको तर्फबाट आवश्यक सहयोग भए पेसालाई जीवन्त राख्न केही टेवा मिल्ने भेडापालक किसानले बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस