aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मिड सोलु हाईड्रोपावरको आईपीओ शुक्रबारदेखि मात्र निष्कासनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
मिड सोलु हाईड्रोपावरको आईपीओ शुक्रबारदेखि मात्र निष्कासनमा आउने

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा भदौ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय गरेकोमा भदौ २९ गतेदेखि मात्र निष्कासनमा आउने भएको छ । बिहीवार संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय सरकारले गरेसँगै कम्पनीको आईपीओ निष्कासन एक दिन पछि धकेलिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । 

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

सर्वसाधारणमा यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमै विक्दै आएकाले यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस