
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ४० प्रतिशत दरको १ करोड २३ लाख २०० कित्ता आईपीओमध्ये ५ प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा विक्री गरिनेमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २९ गतेदेखि भदौ ११ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा साउन २९ गतेदेखि भदौ २६ गतेसम्म आईपीओ विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ विक्री गरेको हो ।
स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ भने वितरण हुन नसकेको जानकारी समेत कम्पनीले दिएको छ । स्थानीयमा वितरण हुन नसकेको उक्त कित्ता शेयर समेत थप गरी वैदेशिक रोजगारीमा रहेका नेपालीमा १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले प्रिमियम मूल्य सहित आईपीओ विक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।
प्रतिक्रिया दिनुहोस