aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असोज २०८०
नेशनल हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म विक्री गरेको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर असोज २ गते बाँडफाँट गरेको हो । 

बाँडफाँटको अन्तिम मूल्य ११० रूपैयाँ रहेको जानकारी विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले दिएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर मात्र साउन ३० गते बाँडफाँट गरिएको थियो । सो अवधिमा वितरण नभएको शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रूपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफापछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रूपैयाँ कायम भएको छ । अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज ७ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा रकमान्तर गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ साल असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुर जिल्लामा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत भइरहेको छ ।

कम्पनीको सुनकोशी हाइड्रो पावरलाई प्राप्ति गरी २०७९ साल असोज १४ गतेदेखि एकिकृत कारोबार सुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ । नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रकृया मार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस