aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी

काठमाडौं ।  काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ ।
 
उनीहरुलाई स्कुलमा पढाउने, घर फर्काउने तथा विभिन्न सीपमूलक कार्यक्रम आयोजना गरी बालश्रमिक हटाउने अभियानमा नगरपालिका लागेको हो । बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत विभिन्न सङ्घसंस्था र स्थानीय समूह एवं बाल क्लबको संयोजन तथा सहकार्यमा उक्त अभियान चलाइएको र त्यसबाट धेरै कम हुँदै गएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए ।

आज यहाँ इँट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजनाको उपलब्धिका विषयमा भएको अन्तरक्रियामा नगरपालिकाका प्रमुख गिरीले ति बालबालिकालाई पहिचान गरी बालश्रम मुक्त बनाउन थालिएको जानकारी दिनुभयो । उक्त परियोजना चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका २२ बुंमती क्षेत्रमा लागू गरिएको छ । चन्द्रागिरि नगरपालिकाका पूर्वउपप्रमुख लिशा नकर्मीले पछिल्लो पाँच वर्षमा बालअधिकारका क्षेत्रमा चन्द्रागिरिमा ठूलो काम भएको बताए । 

उनले विगतमा पूर्वाधारमा बढी केन्द्रित भएकाले अब भने समाज सुधार तथा सामाजिक कामलाई प्राथमिकतामा राखेर सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । समारोहमा राष्ट्रिय बालअधिकार परिषद्का सदय सचिव इन्द्रादेवी ढकालले बालश्रम अन्त्य गर्न नेपाललले प्रतिबद्धता जनाइसकेकाले चुनौतीपूर्ण रहे पनि सबैको सहयोग भएमा सफल हुने बताए ।

उनले केही बालबालिका रहरले र धेरैजसो बाध्यतामा बालश्रम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले इँट्टाभट्टा र होटर, रेष्टुराँमा धेरै बालश्रम रहेको बताए । काठमाडौँ इँट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष केदार गोसाईंले उद्योगमा पछिल्लो समयमा बालश्रम मुक्त हुँदै आएको र अब त्यस्ता व्यक्तिको जीवनयापनमा सुधार ल्याउन जरुरी रहेको बताए । उनले नेपालको पाँच प्रदशेमा  इँट्टा उद्योग रहेको र ती प्रदेशमा आर्थिक मन्दीका कारण उद्योग घट्दो क्रममा रहेको बताए । 

उनले नेपालमा एक हजार दुई सय इँट्टा उद्योग रहेकामा घटेर अहिले ६०० मा झरिसकेको बताउए। सहभागीहरुले बालश्रम मुक्त गर्न स्थानीय तहले भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ । समारोहमा बालविकास समाजका कार्यक्रम व्यवस्थापक प्रदीपकुमार श्रेष्ठले इँट्टा उद्योगभित्रको बालश्रमको अवस्था र परियोजनाले पारेको प्रभावका विषयमा जानकारी गराएका थिए । पछिल्लो समयमा चन्द्रागिरि नगरपालिकाले विभिन्न वडालाई बालश्रम मुक्त बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस