
काठडमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये ६२ हजार ११७ जना आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले र बाँकी रहेको २ कित्ता आईपीओ यी मध्येका १० कित्तादेखि २० कित्तासम्मा माग गर्ने दुई जना आवेदकलाई थप एक एक कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ८१ हजार ५७५ जनाले १ करोड ५४ लाख २९ हजार ६०० कित्ता आईपीओ माग गरेका थिए । कुल आवेदकहरूमध्ये १२ लाख ८२ हजार ८१९ जनाको मात्र आवेदन रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस