aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बीउ र तरकारी बेचेरै १४ लाखभन्दा धेरै आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
बीउ र तरकारी बेचेरै १४ लाखभन्दा धेरै आम्दानी

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिक रूपमा रु १४ लाख बढी आम्दानी गर्दै आएका छन्‌ ।

डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिरूपमा रु पाँच लाख, बोडी बिक्रीबाट रु तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट रु दुई लाख, रामधानको बीउ बिक्रीबाट रु एक लाख ५० हजार, अरूण दुई जातको मकैको बीउ बिक्रीबाट रु ८० हजार गरी वार्षिक औसतमा रु चौध लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन्‌ । भारत, मलेसिया तथा जापानमा करिब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उनले कृषि काम गर्न थालेका हुन्‌ ।

‘विभिन्न देशमा रोजगारी गरेँ अन्त्यमा आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु’, उनले भने, ‘चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै एघार वर्षअघिदेखि व्यावसायिक कृषिको सुरुआत गरेको हुँ ।’

सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थालेका डुम्रेले कृषिमै सम्भावना देखे । हाल आफ्नो पाँच रोपनी र अरूको करिब १५ रोपनी जग्गा भाडामा लिएर २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी तथा समयअनुसारका धान र आलुको बीउ उत्पादन गर्दै आएका छन्‌ ।

‘मेरो मुख्य पेसा नै कृषि हो, मैले गरेको कार्यबाट म सन्तुष्ट छु”, उनले भने, ‘उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको कुनै किसिमको समस्या छैन ।’ बाह्रै महिना सिँचाइका लागि पानीको सुविधा भएकाले उनले वर्षमा तीन बाली लगाउँछन्‌ । तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ ।

मकै, धान, गहुँ, आलुको बीउ नगरपालिका, गाउँपालिका, कृषि ज्ञानकेन्द्र, कृषि विकास स्रोतकेन्द्र तथा सरकारी सङ्घसंस्थाको समन्वयका आधारमा सजिलैसँगै बिक्री हुने गरेको उनी बताउँछन्‌ । जिमुहा विभिन्न जातका तरकारी तथा आलु र धानको पकेट क्षेत्र हो । यहाँबाट बर्सेनि लाखौँको तरकारी तथा बीउ निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस