aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यो दशैंमा किन्नु भो त सस्तो ब्याजमा नयाँ गाडी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
यो दशैंमा किन्नु भो त सस्तो ब्याजमा नयाँ गाडी ?

काठमाडौं । दशैको मुखमा अटो मेला चल्छ । अनि दशैंमा नयाँ गाडी किन्नेको संख्या ह्वात्तै बढछ । परिणामत : नयाँ गाडी खरिद गरेर गाउँघरतिर जाने चलन पछिल्लो समय निकै बढेको छ ।

पछिल्लो समय दशैं तिहारको अवसर पारेर मध्यम वर्गका व्यक्तिले गाडी खरिद गर्ने गरेका छन् । नयाँ गाडी लिएर गाउँघरदेखि ससुराली जानेसम्मका काम हुँदै आएका छन् । मान, शान र प्रतिष्ठाका लागि पनि गाडी खरिद गर्नेको संख्या बढी छ । उनीहरुको सपना साकार पार्ने काम बैंकले गर्दै आएका छन् ।

वाणिज्य बैंकहरुले गाडी किन्न सस्तोमा ऋण दिँदै आएका छन् । दशैंमा गाडी खरिद गर्नेलाई छुटको समेत व्यवस्था व्यवसायीले गर्दै आएका छन् ।  बैंकहरुले पनि सस्तो ब्याजमा सवारी कर्जा दिँदै आएका छन् । १० प्रतिशतसम्म ब्याजमा बैंकहरुले अटो कर्जा दिएका छन् ।

पछिल्लो समय रकम अभाव भएपछि बैंकरहरुले सवारी साधन खरिदका लागि दिने कर्जाको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका थिए । दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसर भन्दै १० प्रतिशतसम्म ब्याजदरमा अटो लोन बैंकहरुले दिँदै आएका छन् । अन्य क्षेत्रमा भने बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि पुर्याएका हुन् । तर, दशैंलाई गरेर उनीहरुले १० प्रतिशत ब्याजदरमै सवारी साधन खरिद गर्न ऋण दिँदै आएका छन् ।

बैंकहरुको पनि पहिलो प्राथमिकता सवारी साधन खरिदमा कर्जा दिने पर्दै आएको छ । सवारी साधन खरिदमा अहिले बैंकहरुले अर्बौं रकम लगानी गरेका छन् । बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै सवारी साधन किन्न हो ।

बैंकहरुले सवारी साधन खरिदमा दिने कर्जा धेरैजसो ७ वर्षे छ । खरिद गर्ने व्यक्तिले चाहेमा र उसको समय बढाउन र घटाउन पनि सक्छन् । घर कर्जा जस्तो १५ वा २० वर्षको अवधिको कर्जा भने यसमा हुँदैन ।

कुल कर्जा रकम र त्यसमा लाग्ने ब्याजलाई जोडेर एकमुष्ट बनाएपछि महिनाले भाग गरेर प्रत्येक महिना कति रकम तिर्ने भनी किस्ताको रकम निर्धारण गरिन्छ ।  कर्जा रकम र ब्याजसमेत जोडेर हुने कुल रकममा बैंकले बनाउने ईएमआई फर्मुलाले हिसाब गरी किस्ता रकम निर्धारण गर्ने प्रचलन छ ।

सरकारले सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ । राष्ट्र बैंकले निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।  ५० प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने छ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउँछन् ।

विलासिताको साधानको रुपमा लिइने गाडी अहिले आवश्यकताको साधान बन्न पुगेकाले पनि गाडी खरिद गर्नेको संख्या दिन प्रतिदिन बढदै गएको व्यवसायीहरु बताउँछन् । नेपालीको सबैभन्दा ठूलो पर्व दशैंमा नयाँ लुगा लगाउनदेखि गाडी खरिद गर्नेसम्मका काम हुन्छन् ।

प्रतिक्रिया दिनुहोस