aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्काशन, यस्तो छ कम्पनीको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ निष्काशन, यस्तो छ कम्पनीको अवस्था

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आफ्नो जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा यस अघि बाँडफाँट गरिसकिएको छ । 

स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये विक्री हुन नसकेको ९ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा थप गरि विक्री गर्न लागिएको छ । यी वाहेक सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ बाँडफाँट गरी १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । विक्री अवधि छिटोमा असोज २२ गतेसम्म र ढिलोमा कात्तिक २ गतेसम्म तोकिएको छ । मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीको आईपीओ छिटो अवधि असोज २२ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।

यो कम्पनी २०६९ साल साउन ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत  १७ करोड ४८ लाख २५ हजार १७४ रूपैयाँ रहेको छ । हालसम्म आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । २०६९ साल पुस २० गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमति प्राप्त गरेकाले विद्युत उत्पादन अनुमति पत्र २१०७ साल फागुन २६ गतेसम्म वहाल रहनेछ । रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा रहेको कम्पनीको कारोबार गर्ने मुख्य स्थान भने रसुवा जिल्लाको आयोजनाको कार्यालयमा रहेको छ ।

कम्पनीको कस्तो छ भनेर बुझिने महत्वपूर्ण आधारहरूमध्येकै एक हो पूँजी संरचना । यो कम्पनीको अधिकृत पूँजी २ अर्ब १० करोड रूपैयाँ छ भने जारी पूँजी १ अर्ब रूपैयाँ मात्र छ । हाल संस्थापक तर्फ ७० करोड रूपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीमा सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १ अर्ब रूपैयाँ कायम हुनेछ । 

कुल चुक्तापूँजीमा संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओबाट संकलित पूँजी आयोजना निर्माणका लागि भएको खर्च व्यवस्थापनमा प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ ।

व्यापारिक उत्पादन भैनसकेको यस कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ४६ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनी आर्थिक वर्ष ०७७/७८ मा १ करोड ४२ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष ०७८÷७९ सम्म भने कम्पनीको सञ्चित नोक्सानी २ करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको छ । 

यी आर्थिक वर्षको वित्तीय अवस्था वास्तविक रहेको भनाई कम्पनीको छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४ करोड ६१ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र भने कम्पनीको सञ्चित नोक्सानी ४ करोड ११ लाख रूपैयाँभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ १४ पैसा रहेको छ ।

हाल कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । रामेश्वर रिजाल सञ्चालक समितिका अध्यक्ष रहेका छन् । सिभिल इन्जिनियरिङ र समाज शास्त्रमा स्नातकोत्तर गरेका अध्यक्ष रिजाल २०६९ सालदेखिनै कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा रहेका छन् । सञ्चालकहरूमा घन श्याम थापा, अजय कार्की र सरोजा पौड्याल रहेका छन् । सञ्चालक घन श्याम थापाले अर्थशास्त्रमा र अजय कार्कीले सिभिल इन्जिनियरमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सरोजा पौड्यालले भने व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् ।

कम्पनीको आईपीओको प्राथमिक बजारमा निष्कासन तथा बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारयोग्य हुने शेयरको खुला मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तोक्ने गर्दछ । 

नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ९६ रूपैयाँ १४ पैसादेखि पैसादेखि अधिकतम प्रतिकित्ता २८८ रूपैयाँ ४२ पैसासम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस