aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

तामाकोशी हाइड्रोपावरको हकप्रदमा ७८ प्रतिशत आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
तामाकोशी हाइड्रोपावरको हकप्रदमा ७८ प्रतिशत आवेदन

काठमाडौं । तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आजसम्म ७८ प्रतिशत शेयरमा आवेदन परेको छ ।दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको जलविद्युत कम्पनीको एक बराबर एकका दरले हकप्रद शेयर जारी भएको थियो । १० करोड ५९ लाख कित्ता हकप्रद शेयरमा संस्थापकहरुले ५१ प्रतिशतमा आवेदन दिइसकेकाले अब ४९ प्रतिशतको ७८ प्रतिशतमा आवेदन परेको कम्पनीका कम्पनी सचिव शुरेस खकुरेलले बताए । अझै आवेदन दिन ४ दिन बाँकी रहेकाले धेरै शेयरमा आवेदन पर्ने सम्भावन रहेको सचिव खकुरेलले बताए । 

१० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशीको चुक्तापूँजी हकप्रद सेयर जारी भएपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । लिमिटेडले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद शेयर जारी गरी थप पूँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका निष्कासन गर्न तामाकोशीले यस अघि नै नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २र२ अर्ब रुपैयाँ लगानी गरेका छन्‌ । नेपाल सरकारले ११ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यी ऋणको ब्याजदर झण्डै ११ प्रतिशत छ ।

लिमिटेडमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २ र २ प्रतिशत संस्थापक शेयर छ । सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर रहेको यो जलविद्युत आयोजना हाल निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । 

प्रतिक्रिया दिनुहोस