
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् ।
सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए ।
विद्युत विधेयक, २०८० का दर्जन प्रस्तावित प्रावधानप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्ठा, नेपाल (इप्पान) ले असन्तुष्टि व्यक्त गरिसकेको छ । विशेषगरी उत्पादन अनुमतिपत्र (जेनेरेशन लाइसेन्स) दिने विधि र अवधि हेरफेरप्रति निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले आपत्ति जनाएका हुन् ।
इप्पान अध्यक्ष गणेश कार्कीले विधेयकमा संशोधन गर्नुपर्ने विषयहरू ऊर्जा मन्त्रालयलाई जानकारी गराइएको बताएका छन् । तर, मन्त्री बस्नेतले हु-बहु विधेयक संसद्मा पेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस