
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागिएको हो ।
प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरको १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्न लागिएको हो । नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ विक्री पछि कम्पनीले २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि विक्री गर्नेछ । यसपछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीको आईपीओ कार्तिक २४ गतेसम्म विक्रीमा रहनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
नेपालको कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको किसान, अन्न संकलक, मिलर, व्यापारिक तथा औधोगिक प्रयोजनका लागि खाद्यान्नको गोदाम सम्बन्धी आवश्यकताहरू पूर्ति गर्नका लागि स्थापना भएको कम्पनी हो । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ५५ करोड रूपैयाँ रहेको छ ।
सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ विक्री तथा बाँडफाँटपछि चुक्तापूँजी ६८ करोड ७५ लाख रूपैयाँ कायम हुनेछ । संस्थापक तर्फ हाल ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ७ करोड ९४ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस