aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बचत भएको विद्युत मात्र निर्यात गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
बचत भएको विद्युत मात्र निर्यात गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युत्को व्यापार कसरी हुनुपर्छ भनेर मार्गचित्र र कार्ययोजना तयार गरेका अवगत गराएका हुन् । 

उनले कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको बताए । उक्त विधेयक ऊर्जाको विकासका साथै मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण हुने बताउँदै ऊर्जामन्त्रीले विधेयकमा ऊर्जा विकासका साथै विद्युत् उत्पादन, पूर्वाधार क्षमतालगायत विषय समेटिएका स्पष्ट गरे । उनले विद्युत् क्षेत्रमा आवश्यक सुधारका लागि कानुन बनाउनु परेको बताए । 

वर्षा र सुक्खा याममा हुने विद्युत् उत्पादन र आपूर्तिको असन्तुलन घटाउन जलाशययुक्त आयोजनालाई प्रोत्साहन र आन्तरिक खपतको रणनीति बनाउन मन्त्रालयले काम गरिरहेको मन्त्री बस्नेतले बताए । साथै उनले नवीकरणीय ऊर्जाका लागि बेग्लै विधेयक मस्यौदा तयार गरिएको जानकारी दिए । 

बैठकले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २५ गते दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस