
काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडको २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद शेयर असोज ३० गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले कात्तिक १४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागिएको हो ।
यो शेयरको मूल्य प्रतिशेयर १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
यस अवधिमा रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँट गरिएको हो । अवितरित हकप्रद शेयर विक्री हुन नसकेको हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस