aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा बिक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असोज २०८०
चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । 

आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओ समेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको हो । 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिशेयर एक सय रूपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्रीमा आएको हो । यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर , पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्नपीको आईपीओ समेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस