
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ विक्री गरेको हो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १० लाख ४६ हजार ४५९ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएको थियो । रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये १० लाख ३२ हजार १३२ जना आवेदकलाई आईपीओ बाँडफाँट गरेको हो । यी आवेदकहरूमा पहिलो चरणमा १० कित्ताका दरले १ करोड ३ लाख २१ हजार ३२० कित्ता आईपीओ बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता आईपीओ ८ जनालाई थप एक कित्ताका दरले बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।
यस आधारमा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गरेका छन् । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार ११ लाख ४६ हजार ६६१ जनाले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता आईपीओ खरीद माग गर्दै आवेदन दिएका थिए । १ लाख २०२ जना आवेदकले माग गरेको ३० लाख ९० हजार ३० कित्ताको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको हो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
यी वाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरि बाँकी आईपीओ सर्वसाधारणमा बाँडफाँट गरिएको हो । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।
प्रतिक्रिया दिनुहोस