aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिरुवा उत्पादनले बदलियो पहिचान, खेतीपातीबाटै मनग्य कमाउँदैछन्‌ यी किसान

  • रासस
    रासस
  • शुक्रबार, २६ असोज २०८०
बिरुवा उत्पादनले बदलियो पहिचान, खेतीपातीबाटै मनग्य कमाउँदैछन्‌ यी किसान

रामपुर । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहेका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहेका छन्‌ । 

उनको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमी यामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताए । ‘बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री कार्यमै दिनहरू बित्छन्’, उनले भने ।

तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको बस्यालले बताए । व्यावसायिक तरकारी खेती गर्नुभएका उनले तरकारीको बजारीकरण, उत्पादन लिन धेरै समय, रोग कीराको समस्याका कारण एक दशकयता भने बिरुवा उत्पादनलाई जोड दिएका छन्‌ ।

‘तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ’, उनले भने, ‘लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ ।’ उनले एक वर्षमा करिब रु एक लाख बराबरको बिरुवा बिक्री गर्छन्‌ । नर्सरीबाटै धमाधम बिरुवा बिक्री भइरहेको छ ।

पाल्पाको रामपुरलगायत छिमेकी जिल्ला, स्याङ्जा, तनहुँलगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउने गरेको बस्यालको भनाइ छ । बिरुवा बिक्रीबाट घर खर्च चलाउन धेरै सजिलो भएको उनी बताउँछन्‌ । बस्यालले बिरुवा उत्पादनका अलवा पशुपालन, कुटानी पिसानी मिलसमेत सञ्चालन गर्दै आएका छन्‌ ।

सोही ठाउँकै अर्का कृषक राधिका बस्यालले बिरुवा बिक्रीबाटै गत वर्ष रु एक लाख ४० हजार बराबरको आम्दानी गरे । यस वर्ष पनि सो बराबरकै आम्दानी हुने उनको अनुमान छ । विगत आठ वर्षदेखि बिरुवा उत्पादन गरिरहेकी राधिकाले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकामा खुसी व्यक्त गरिन्‌ ।

उनी भन्छिन्‌, ‘पहिला घरपरिवार, आफन्त, साथीभाइले मात्रै चिन्नुहुन्थ्यो, अहिले यस व्यवसायका कारण धेरैका सामु व्यावसायिक कृषकको रूपमा परिचित हुन पाउँदा खुसी लागेको छ ।’ बिरुवा उत्पादनका अलवा घरमा पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती गरिरहेको उनी बताउँछिन्‌ ।

आफैँले बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि अरूको भर पर्नु नपरेको उनको भनाइ छ । घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने राधिकाको अनुभव छ ।

यतिबेला यहाँका किसानलाई ग्राहकको मागअनुसार बिरुवा पुर्‍याउन समस्या भइरहेको छ । बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेका छन् । बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी–खोजी घरमै पुगेर खरिद गर्ने गर्दछन् ।

राम्रो मूल्य लिनका लागि यहाँका किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका हुन्छन् । बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन् । अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा रु पाँचमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस