aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रिमियममा आईपीओ जारी गर्दै मारूती सिमेन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
प्रिमियममा आईपीओ जारी गर्दै मारूती सिमेन्ट

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव सहित कात्तिक २१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । उत्पादनमूलक क्षेत्रको कम्पनीको रुपमा धितोपत्र दोस्रो बजारमा मारूती सिमेन्ट्स पनि थप हुने भएको हो । 

असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सभाले प्रस्तावित १० प्रतिशत कर समेत नगद लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले अग्राधिकार शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवम् कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरेको छ ।

अग्राधिकार शेयर सर्वसाधारणमा परिणत भएपश्चात कायम चुक्तापूँजीका आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । बोनस शेयर प्रदान गर्ने प्रस्ताव सूचनामा उल्लेख भएपनि कति प्रतिशत भन्ने उल्लेख छैन् । उल्लेखित प्रस्तावहरू पारित गरेपछि  नियमावली र प्रबन्धपत्रमा संशोधन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

उत्पादन मूलक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा प्रवेश गराउन सके बजारमा सकारात्मक प्रभाव पर्ने टिप्पणी भैरहेको अवस्थामा मारूती सिमेन्ट्सको आईपीओ निष्कासनको प्रस्तावलाई आम लगानीकर्ताले सकारात्मक रुपमा लिने विश्वास कम्पनीको रहेको छ । 

हाल धितोपत्र दोस्रोबजारमा सिमेन्ट्स कम्पनीका रुपमा घोराही र शिवम् सिमेन्ट्स सूचीकृत रहेका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज २४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वोत्तम सिमेन्ट्स भने बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको छ । यस आधारमा धितोपत्र बजारमा सिमेन्ट्स कम्पनीहरू हालसम्मको रेकर्डमा पाँच पुग्ने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस